
काठमाडौं : माइती इन्डिया, लभ नेपाल र लभ एण्ड होपको पहलमा दुबईमा बेचिएकी नेपाली युवतीको उद्धार गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका स्थायी ठेगाना भएकी वर्ष २० की कल्पना (परिवर्तित नाम) लाई मानव तस्करीका गिरोहले दुबईमा पाँच लाख चार हजार नेपाली रुपैयाँमा बिक्री गरेको माइती इन्डियाले जनाएको छ ।
उक्त मानव तस्कर गिरोहमा ३२ वर्षीय दीपक मगर, ३० वर्षीय मौसम, ३५ वर्षीय पाकिस्तानी नागरिक समीर, मिना डोल्मालगायताको संलग्नता रहेको पीडितले बताएकी छन् ।
कक्षा १२ मा अध्ययनरत कल्पना घरको कमजोर आर्थिक अवस्थाका कारण वैदेशिक रोजगारीमा जाने मनस्थितिमा थिइन् । उनको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै मानव तस्करहरुले उनलाई प्रलोभनमा पारी दुबई पुर्याएर बिक्री गरेको खुल्न आएको छ । उनलाई मानव तस्कर गिरोहले गत माघ २ गते एयर अरेबियाको जहाजमार्फत दुबई पुर्याएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम भनिने मानव तस्कर उनलाई पुर्याउन आफैं पुगेको समेत खुल्न आएको छ ।
दुबईमा बेचिएकी उनलाई पटक–पटक यौन शोषण गरिएको र मानसिक तनाव दिएको कारण उनले आफूले काम गर्न नसक्ने बताएपछि आफू बेचिएको थाहा पाएकी थिइन् । उनलाई नेपाली रुपौयाँ पाँच लाख चार हजारमा बेचिएको र उक्त पैसा नदिएसम्म नेपाल फर्कन नसक्ने भन्दै काम लगाउने मालिकले बताएको कल्पनाले बताइन् ।
लगत्तै घटनाको जानकारी पाएका स्वीडेन नागरिक जोनाथन र जोन अबलेनले लभ नेपालका अध्यक्ष बालकृष्ण पाण्डे र माइती इन्डियाकी निर्देशक पुजा पाण्डेलाई उद्धारका लागि अनुरोध गरेका थिए । सोही बमोजिम बालकृष्ण र पुजाको संयुक्त टिमले परराष्ट्र मन्त्रालय, नेपाल प्रहरीको मानव बेचविखन तथा अनुसन्धान ब्यूरोको आवश्यक समन्वयमा उनको उद्धार गरिएको माइती इन्डियाले जानकारी दिएको छ ।
‘हामी आफैं दुबई पुगेर उनको उद्धार गरेका हौं । यसमा दुबईस्थित नेपाली दूतावास, नेपाली जनसम्पर्क समिति यूएई, एनआरएन यूएई लगायतको महत्वपूर्ण सहयोग रह्यो । अहिले पीडितको अवस्था एकदमै नाजुक छ । उनको स्वास्थ्य उपचार चलिरहेको छ,’ समाजसेवी बालकृष्ण पाण्डले भने ।
उद्धारकर्ताहरुको निवेदनमा अहिले मानव बेचविखन तथा अनुसन्धान ब्यूरोले अनुसन्धान थालिसकेको समेत पाण्डले जानकारी गराए । पीडितले पनि जाहेरी दिने तयारी गरेको उनले बताए ।
स्वीडेन नागरिक जोनाथन र जोन अबलेनले उनको शिक्षा कक्षा १ देखि नै सहयोग गर्दै आएका थिए । उनी बेचिएको थाहा पाएपछि जोनाथन आफैं पनि दुबई पुगेर उद्धारमा लागिपरेको समाजसेवी लभ नेपालका अध्यक्ष पाण्डेले बताए ।
Source:- https://madhyanhadaily.com/post/52868